रेडियो गौशाला , ११३० पटक हेरिएको
काठमाडाैं- पर्सा र कास्कीबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । पर्साकाे वीरगञ्ज महानगरपालिका-१६ रजयन्ती चोकबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ९० मिलिग्रामसहित बारा कलैया उपमहानगरपालिका-१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा र लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कास्कीकाे पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट २४० ट्याब्लेट, डाईजेपाम २ सय एम्पुल, नुर्फिन २०० एम्पुल र फेनारगन २ सय एम्पुलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा सुघौली गाउँपालिका बस्ने ३१ वर्षीय श्रीधन चौधरी र १७ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६१७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
प्रकाशित मिति: २०२३-०४-०३ , समय : १८:३३:५५ , २ वर्ष अगाडि