रेडियो गौशाला , २३४६ पटक हेरिएको
नेपालको कुल २६ वटा भन्सार कार्यालयहरू मध्येसामान निर्यात गर्नेमा विराटनगर भन्सार कार्यालय अगाडि देखिएको छ । चालू आर्थिक वर्षको असोज महिना सम्ममा नेपालबाट कुल ४१ अर्ब ८२ करोड रुपैयाँको सामान निर्यात हुदा १२ अर्ब ५७ करोड २९ लाख रूपैयाको सामान विराटनगर भन्सार कार्यालयबाट निर्यात भएको छ । यो कुल निर्यातको करिब ३० प्रतिशत हो । भदौ महिनासम्म विरगञ्ज भन्सार कार्यालय अगाडि रहेकोमा असोजमा भने दोस्रो स्थानमा झरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । गत ३ महिनामा विरगञ्ज भन्सार कार्यालयबाट १० अर्ब ७१ करोडको सामान निर्यात भएको छ । यो कुल निर्यातको करिब २५ प्रतिशत हो । यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भने ९ अर्ब ७७ करोड मुल्य बराबरको सामान निर्यात भएको छ । विभागका अनुसार हालसम्म १५ वटा भन्सार कार्यालयहरूबाट मात्रै निर्यात व्यापार गरिएको छ भने ११ वटा भन्सार कार्यालयहरूबाट निर्यात सुन्य रहेको छ । चोभार सुख्खा बन्दरगाहा भन्सार कार्यालय र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भने ३ लाख र ४ लाख रुपैया बराबरको मात्रै सामान निर्यात भएको छ । यस्तै ५ वटा भन्सार कार्यालय मार्फत भने करिब १ करोड मुल्य बराबरको मात्रै सामान निर्यात भएको भन्सार विभागका सुचना अधिकारी पुन्य विक्रम खड्काले जबताउनुभयो ।
प्रकाशित मिति: २०२२-११-०१ , समय : ०९:४८:४६ , २ वर्ष अगाडि