रेडियो गौशाला , ४७५ पटक हेरिएको
विजयकुमार साह,ढल्केवर । धनुषामा प्रहरी भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएको छ । इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया प्रहरी भ्यानबाट हाम फालेर फरार भएको हो ।
जनकपुरधामस्थित जिल्ला अदालत धनुषामा म्याद थप गराई सबैलातर्फ फर्कने क्रममा सहीदनगर नगरपालिका–३, यदुकुहाबाट आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँले फरार थुनुवा सबैला नगरपालिका–१३, किरतपुरको रहेको जानकारी दिनुभयो ।
फरार थुनुवाको खोजी कार्य तीव्र रूपमा भइरहेको बताउँदै प्रवक्ता गौतमले बताउनुभयो । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै फेरि एक जना थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएको हो ।
प्रकाशित मिति: २०२३-०२-२७ , समय : ११:०९:०३ , २ वर्ष अगाडि