रेडियो गौशाला , ८८५ पटक हेरिएको
बारा–पर्सा औद्योगिक करिडोरमा रेल्वेको सयौँ बिघा जग्गा अतिक्रमणमा परेको छ । अम्लेखगञ्ज–रक्सौल रेल्वेको सयौँ बिघा जग्गा उद्योगहरुले अतिक्रमण गरेका छन् । अम्लेखगञ्जदेखि वीरगञ्जसम्मको ३९ किलोमिटर क्षेत्रको १ हजार ७ सय ४९ बिघा जग्गा दर्जनौं उद्योगले अतिक्रमण गरेर भोगचलन गर्दै आएको छ ।
साविक सिमरा पिपरा गाउँ पञ्चायतका तत्कालीन प्रधानपञ्च मुकुन्द बहादुर क्षेत्रीले रेल्वेको संरचना व्यक्ति र उद्योगको अतिक्रमणमा परेको गुनासो गरेका छन् । अम्लेखगञ्जदेखि पूर्वपट्टी हुलास, अशोक स्टिल, कत्था मिल हुँदै जितपुरगढीमाई मन्दिरदेखि पश्चिमपट्टी नारायणी लेदर, डाबर नेपाल, नारायणी रोलिङ मिल्स, नेशनल फर्मासिटिकल्स, गोदाबरी आयल्स, नारायणी इन्साफट, राहुल आयल लगायतका दर्जनौँ उद्योगले रेल्वेको जग्गा अतिक्रमण गरेर प्रयोग गर्दै गरेको तत्कालीन प्रधानपञ्च क्षेत्रीले बताए ।
रेल्वेको जग्गामा डाबर नेपाल बहुराष्ट्रिय कम्पनीदेखि स–साना उद्योगहरुले संरचना बनाएका छन् । केही उद्योगीले मालपोत र नापी कर्मचारीहरुसँगको मिलेमतोमा रेल्वेको जग्गा उद्योगको नाममा नामसारीसमेत गराइसकेको बुझिएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ का पूर्व वडाध्यक्ष अस्लम देवानले डाबर नेपाल बहुराष्ट्रिय कम्पनी, नारायणी लेदर, मल्लिका कोइला उद्योग, कन्सेफ्ट औषधि उद्योग, ज्योति ग्रुपले मात्रै सयौँ बिघा जग्गा अतिक्रमण गरेको बताए ।
प्रकाशित मिति: २०२३-०२-२२ , समय : ०८:४०:४१ , २ वर्ष अगाडि