रेडियो गौशाला , ७५३ पटक हेरिएको
जनकपुरधाम- मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निजी अस्पताललाई सेवामुखी भएर काम गर्न आग्रह गरेका छन् । उनले निजी क्षेत्रका संस्थाले समाजबाट व्यवसायिक रुपमा लाभ लिइरहँदा समाजप्रतिको दायित्वसमेत नबिर्सिन आग्रह गरेका छन् ।
सोमबार जनकपुरधामस्थित मैक्स लाइफ हस्पिटलमा पूर्वाञ्चल क्यान्सर अस्पतालले आयोजना गरेको निःशुल्क क्यान्सर शिविरको उद्घाटन गर्दै सभामुख मण्डलले निजी अस्पताललाई व्यवसायीमुखीभन्दा पनि सेवामुखी भएर समाजका लागि काम गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘अहिले समाजमा नीजि अस्पताल, निजी बैंक, निजी विद्यालय, होटेललगायतका संस्था जथाभावी रुपमा खोलिए पनि समाजमा उनीहरुको लगानी देखिँदैन । यस्तो अवस्थामा समाजप्रतिको दायित्वभन्दा पनि नाफामुलक व्यवसायले समाजमा नकारात्मक सोचको विकास भइरहेको छ ।’
उनले निजी संस्थाहरुले समाज विकासोन्मुख कार्यहरुमा लगानी लगाउनुपर्ने र सेवाभावले कम शुल्कमा जनतालाई सेवा दिन जरुरी रहेको बताए ।
पूर्वाञ्चल क्यान्सर अस्पतालले जनकपुरधाममा आएर क्यान्सरको रोगीहरु पत्ता लगाउने कार्य सराहनीय रहेको बताउँदै उनले सेवाभावले काम गर्नु समाजप्रति कर्तव्यबोध समेत रहेको बताए ।
स्वास्थ्य शिविरमा पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बिएनसी मेडिकल कलेजका निराजन प्रसाईं, मैक्स लाइफका मेडिकल डाइरेक्टर कृष्णकुमार साह, पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर वीरेन्द्र यादवलगायत सहभागी थिए ।
यस शिविरमा ११० जना बिरामीको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको मैक्स लाइफ अस्पतालले बताएको छ ।
प्रकाशित मिति: २०२३-०२-२१ , समय : १०:३७:५५ , २ वर्ष अगाडि