रेडियो गौशाला , ५४७९ पटक हेरिएको
जनकपुरधाम- मधेश प्रदेश सभाको पहिलो बैठकमा सभासदहरुले प्रदेशमा भएका भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् । सभासदहरुले यातायात व्यवस्था कार्यालय, जानकी मन्दिरको सौन्दर्यकरण, मधेश कृषि विश्वविद्यालय लगायतका निकायहरुमा भएका भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् ।
नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुरले यातायात व्यवस्था कार्यालयमा व्यापक भ्रष्टाचार भइरहेको उल्लेख गर्दै तत्काल रोक्न माग गरेका छन् । ‘आमनागरिकको सोझो सरोकार भएको यातायात कार्यालयमा आर्थिक चलखेल ब्यापक भइरहेको छ ’ उनले भने, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको ध्यानाकर्षण होस् । प्रदेश सभाको मंगलवार बसेको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टी (एस)का सांसद गोविन्द बहादुर न्यौपानेले भने,‘ अब हामीले गर्ने कार्यक्रम समाजवाद उन्मुख होस् तपाईले ल्याउने बजेट समाजमा पुग्ने के के हुन सक्छ नीति कार्यक्रम र बजेटमा ल्याउनुस त्यसको लागि शुभकामना छ ।’ उनले आफूहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, बैंक तथा लघुवित्तहरुको ब्याज चर्को रहेको र सो ऋणले गर्ने कारोबारबाट आउने नाफाले ऋणको ब्याज पनि तिर्न सक्ने अवस्था नरहनु दुर्भाग्यपूर्ण हो ।
नेपाली कांग्रेसका सांसद जङ्गीलाल रायले मुख्यमन्त्री यादवले सडक र सदनमा उठेका कुरालाई सम्बोधन गर्ने अपेक्षासहित कांग्रेसले विश्वासको मत दिएकाले त्यसलाई मधेशको हितमा प्रयोग गर्न आग्रह गरे । ‘हामीले मधेश प्रदेशको हितका पक्षमा काम गर्ने अपेक्षासहित मत दिएका हौँ’, रायले भने,‘विश्वासको मत दिँदैमा सबै सत्तापक्ष हुन् र संसदमा प्रतिपक्ष छैन भन्ने नरहोस्, आउने दिनमा मुख्यमन्त्रीले गर्ने काम र खेल्ने भूमिकाले नै थप मूल्यांकन हुनेछ । अहिले सदनमा उठेका मुद्दाहरुको उहाँहरुले सम्बोधन गर्ने विश्वासको आधारमै हामीले विश्वासको मत दिएको यादवले स्पष्ट पार्दैे भने,‘ विश्वासको मत दिँदैमा सबै सत्ता पक्ष नै भइहाल्छ भन्ने होइन त्यसैले विगतमा गरेको वाचा अनुसार कार्य अगाडि बढाउन सक्नुपर्छ ।’
लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) संसदीय दलका नेता अभिराम शर्माले मधेश कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न सरकारसंग माग गरेका छन् । मधेश प्रदेशसभाको ५ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री सरोजकुमार यादवले सरकार बुलेट ट्रेनभन्दा गतिमा काम गर्छ भनेको अभिव्यक्तिलाई ईंगित गर्दै उनले भने, उक्त विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न एक समिति गठन हुनुपर्छ । प्रदेश सरकारको विशेष महत्वाकांक्षी ऐन बनाएरै ल्याइएको योजनाको कृषि विश्वविद्यालयको गाडी र कर्मचारी कोही निजी व्यक्तिले प्रयोग गर्नु दुखद रहेको उनले बताए । मधेश प्रदेश सभाको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै उनले भने, ‘बा.२ झ २४१५ नम्बरको प्रदेश सरकारको गाडी कुनै व्यक्ति चढिरहेका छन् । ‘प्रदेश सरकारको कर्मचारी कसैको निजी काममा प्रयोग भइरहेका छन्’ उनले भने, सरकारलाई यस्ता अनियमित कार्य रोक्न ध्यानाकर्षण गराउँछु ।’
प्रदेश सभासदस्य कञ्चन विच्छाले मधेश प्रदेशको आठवटै जिल्ला कृषिमा आधारित रहेकाले पहिला किसानलाई खाद ,बीउ समुचित व्यवस्था मिलाउन आग्रह गरिन् । शिक्षा र स्वास्थ्यको व्यवस्था जनतामुखी हुनुपर्ने माग गर्दै उनले भ्रष्टाचार मुक्त विकास निर्माणको काम गराउन सरकारको ध्यानाकर्षण गराइन् ।
त्यसैगरी,सांसद विमला अन्सारीले गरिबीका रेखामुनि रहेका मधेश प्रदेशका जनताहरुको पहिचान गरी परिचयपत्र प्रदान गरी खाद्य,शिक्षा , स्वास्थ्य र रोजगारीमा विशेष सहुलियत प्रदान गर्नुपर्ने आवश्यकता औंल्याइन् । मिटर ब्याजीहरुको कारणले मधेश प्रदेशका विपन्न परिवारको जग्गा घर लिलाम भइ सुकुम्वासी बन्न बाध्य भएको बताउँदै उनले भनिन्,‘लिएको ऋण ब्याज चुक्ता गर्दा पनि जालझेल गरेर विभिन्न तरिकाले मानिसहरुको शोषण भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०२-१५ , समय : ०८:२७:५२ , २ वर्ष अगाडि