रेडियो गौशाला , ११७२ पटक हेरिएको
वीरगञ्ज – वीरगञ्जमा दिउँसै हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
गएको बिहीबार वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ६ स्थित रेल्वे सडकखण्डबाट पक्राउ परेको उक्त गिरोहलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो। गिरोहले वीरगञ्जका विशालकुमार पटवालाई हतियार देखाएर अपहरण गरी लुटपाट गरेको थियो।
पटवाको अपहरण भएको खबर पाएपछि प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले अपहरणमा परेका पटवालाई वीरगञ्ज महानगरपालिका–१५ भिष्वाबाट उद्धार गरेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
अपहरणकारीहरुले पटवाको साथमा रहेको ६ लाख ५० हजार रुपैयाँसमेत लुटपाट गरेका थिए। अपहरण तथा डकैतीमा संलग्न व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा गिरोहका आठ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताए।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने विजय महतो, वडा नम्बर २ छपकैयाका सदाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा रहेका छन्।
यस्तै, पक्राउ पर्ने अन्यमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने मुकेश पटेल, परवानीपुर गाउँपालिका–३ बस्ने नबाब हुसेन र भारत बिहारको मोतिहारीका इमाम अन्सारी रहेका छन्। विजय महतो गिरोहको मुखिया रहेको प्रहरी उपरीक्षक शाहले बताए।
पक्राउ परेकाहरुको भारतमा पनि विभिन्न घटनामा संलग्नता रहेको भन्ने अनुसन्धानको क्रममा खुलेको उनले बताए। उनीहरुको साथबाट प्रहरीले अपहरणमा प्रयोग गरिएको एक थान पेस्तोल र पाँच राउण्ड गोली, नगद ४ लाख ९५ हजार रुपैयाँ पनि बरामद गरेको छ।
साथै अपहरणमा प्रयोग गरिएको ना १९ प २८०८, ना ६२ प १०० र बीआर १ सीआर २४२५ नम्बरको तीन वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
पक्राउ परेका आठै जनालाई अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।
प्रकाशित मिति: २०२३-०२-१३ , समय : २०:३३:३९ , २ वर्ष अगाडि