नेपाल टेलिकमको १९औं वार्षिकोत्सवको अवसरमा प्रतिस्पर्धी हुँदै गुणस्तरीय सेवा दिन सुझाब

रेडियो गौशाला , १३३४५  पटक हेरिएको

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकमको)को १९औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रतिस्पर्धात्मक वातावरणमा भरपर्दो, गुणस्तरीय सेवा प्रवाह गर्न एवम् सेवाग्राहीले लागत अनुरूपको सेवा उपभोग गर्न पाउने अवसर सिर्जना गर्न कम्पनीलाई सुझाब दिएकि छन्।

कम्पनी २०औं वर्षमा प्रवेश गर्न गइरहेको अवसरमालिखित शुभकामना दिँदै विनाशकारी भूकम्प, प्राकृतिक विपत्ति एवम् महामारीको समयमा पनि निर्बाधरूपमा भरपर्दो र नियमितरुपमा सेवा प्रवाह गर्न कम्पनी सर्वदा तत्पर छ भन्ने तथ्यलाई कम्पनीले निरन्तरता दिने विश्वास व्यक्त गरिन्।

“सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको नवीन प्रविधि र उपलब्धिलाई अवलम्बन गरी प्रतिस्पर्धात्मक वातावरणमा भरपर्दो, गुणस्तरीय सेवाप्रवाह गर्न एवम् सेवाग्राहीले लागत अनुरूपको सेवा उपभोग गर्न पाउने अवसर सिर्जना गर्न कम्पनी अझ दृढतापूर्वक लाग्नेछ भन्ने अपेक्षा गर्दछु,” उनले भनिन्।

यसैगरी सञ्चार सचिव डा. बैकुण्ठ अर्यालले सबै प्रकारका आर्थिक–सामाजिक क्रियाकलापमा सूचना प्रविधिको प्रयोग बढेसँगै यसमा चुनौती थप भएको बताएका छन्। उनले कम्पनीको वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै हिजोका दिनमा लगभग एकाधिकार कायम गरेको नेपाल दूरसञ्चार कम्पनीले आफूलाई प्रतिस्पर्धी, सक्षम र सबल संस्थाको रूपमा विकास गरी सेवाग्राहीको पहिलो छनौटको सेवाप्रदायक बनाउन थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन्।

“अन्य दूरसञ्चार सेवा प्रदायकको तुलनामा यस कम्पनी साधन, स्रोत र मानवशक्तिको दृष्टिले निकै अगाडि छ। कम्पनीको नेटवर्क र पूर्वाधार उत्कृष्ट छ। यस अवसरलाईसदुपयोग गरी देशभर नयाँ प्रविधि र अनुसन्धानमा आधारित आम नागरिकले सन्तोष गर्नसक्ने गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी व्यवस्थापन र कर्मचारी दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने मेरो बुझाइ छ,” उनले भनेका छन्।

कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले प्राविधिक र भौगोलिक रुपमा सम्भव भएका सबै स्थानहरुमा फोरजी/एलटीई सेवाका साथै अप्टिकल फाइबरमार्फत अत्याधुनिक प्रविधिबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाको पहुँच स्थापित गर्न हामी कटिबद्ध रहेको बताएका छन्।

कम्पनीले सकेसम्म देशका सबै वस्तीहरुलाई सञ्चार सेवाको पहुँचमा ल्याई डिजिटल डिभाइड न्यूनीकरण गर्दै मुलुकलाई डिजिटाइजेसन गर्ने नेपाल सरकारको योजनामा सहयोग पुर्याइरहेको उनले उल्लेख गरेका छन्।

“नयाँ सेवाका रुपमा हामीले ई–सिम देशव्यापी रुपमा उपलब्धगराइरहेका छौं भने फाइभजी परीक्षणको क्रम जारी रहेको छ। सूचना प्रविधिको उपयोगमार्फत सीपमुलक र ज्ञानमा आधारित शिक्षाको विकास एवम् गरिबी न्यूनीकरण गर्ने नेपाल सरकारको नीतिलाईसफल पार्न ब्रोडब्याण्ड इन्टरनेटमार्फत सेवा प्रवाह गरिरहेको अवगत गराउन चाहन्छु,” उनले भनेका छन्।

कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवम् मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टी कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाई बनाउन भरमग्दुर प्रयास गरिरहने व्यहोरा जानकारी प्रबन्ध निर्देशक पौडेलले गराए।

प्रकाशित मिति: २०२३-०२-०५ , समय : ०९:३७:२२ , २ वर्ष अगाडि