रेडियो गौशाला , ७१६ पटक हेरिएको
लालबन्दी– ट्राफिक प्रहरीले तरकारी ढुवानीमा अवरोध गरेको भन्दै सर्लाहीको लालबन्दी बजारका व्यापारी आन्दोलित बनेका छन् ।
शुक्रबार राति लालबन्दी बजारबाट व्यापारीले बसमा तरकारी लोड गरेर काठमाडौं पठाएका थिए । तर, जिल्लाको बागमतीस्थित ट्राफिक प्रहरी पोष्टबाट बस पुनः लालबन्दी फर्काएर तरकारी ओराल्न लगाएको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । आन्दोलित व्यापारीहरुले शनिबार बिहान सडकमै सिमी, भन्टालगायतका तरकारी पोखेका थिए ।
यसअघि ट्राफिक प्रहरीले महिनावारी पैसा उठाएर तरकारी ढुवानी गर्न दिएको उनीहरुको आरोप छ । तर, पछिल्लो समय थप पैसा मागेर दुःख दिएको व्यापारीहरुले गुनासो गरे । व्यापारीहरु सडकमै तरकारी पोखेर आन्दोलनमा उत्रिएपछि केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । पछि सुरक्षा अधिकारीहरुको अनुरोधमा छलफलबाट निकास निकाल्ने गरी सडक भने सुचारु भएको छ ।
जिल्लाको लालबन्दी, हरिवनलगायतका स्थानमा थोक व्यापारीहरुले संकलन गरेको तरकारी बसको छतमा लोड गरेर ढुवानी गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी बसमा सामान ढुवानी गर्दा दुर्घटना बढेको भन्दै प्रहरीले कडाई गरेको जिल्ला ट्राफिक प्रहरी सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
ट्राफिक प्रहरी निरीक्षक कार्कीले भने, ‘एकपटकलाई जरिवाना गरेर छोड्दा, पटक–पटक बसमा तरकारी ढुवानी हुन थालेपछि फर्काएर अनलोड गर्न लगाइएको हो ।’ व्यापारी र सावारी चालकले जबर्जस्ती गरेर तरकारी बसमा ढुवानी गर्ने गरेको उनले दावी गरे । ‘पैसा लिने गरेको आरोपमा सत्यता छैन,’ उनले भने, ‘कसले कसरी पैसा लिएको हो रु भन्नु पर्यो हामी कार्वाही गर्छौं । तर, नियमविपरीत गतिविधि नियन्त्रण हुन्छ ।’
प्रकाशित मिति: २०२३-०२-०४ , समय : १९:३४:३३ , २ वर्ष अगाडि