अपराधमा संलग्न ४९ जना एकै दिन पक्राउ

रेडियो गौशाला , ५५८  पटक हेरिएको

विराटनगर- विभिन्न अपराधमा संलग्न भएका ४९ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। हत्या, चोरी, लागूऔषध, लुटपाट, जुवा, कुटपिट, अभद्र व्यवहारलगायतका अपराधमा संलग्न भएर लामो समयदेखि फरार बनेका उनीहरूलाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

आपराधिक घटनामा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नभइ फरार बनेका प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले विशेष टोली परिचालन गरेका छन्।

ढकालको निर्देशनअनुसार खटिएको टोली आइतबार एकै दिन ४९ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो। पक्राउ पर्नेमा ३२ जना पुरुष र १७ जना महिला रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए। उनका अनुसार लामो समयदेखि फरार रहेकालाई पक्राउ गरेर अदालतलाई बुझाइएको छ।

प्रहरीले बुझाएपछि कैद तोकिएका प्रतिवादीलाई अदालतले तोकेको सजाय भुक्तान गर्न कारागार चलान गर्ने गरेको छ। जरिवाना तोकिएकालाई त्यसवापतको रकम असुलेर छाड्ने गरिन्छ।

डीएसपी राईले सुनसरीमा प्रतिवादी पक्राउ अभियानलाई तीव्र पारिएको जानकारी दिए। ‘सम्मानित अदालतबाट विभिन्न मिति र मुद्दामा कैद तथा जरिवानाको फैसला भएपनि सजाय भुक्तान नगरिकन फरार रहेकालाई पक्राउ गर्न विशेष अभियान चलाइएको छ,’ उनले भने, ‘कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका प्रतिवादीलाई धमाधम पक्राउ गर्दै अदालतमा पेश गर्ने गरिन्छ।’

चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि हालसम्म सुनसरीबाट २३५ जना प्रतिवादी पक्राउ परिसकेका छन्। विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ पर्दा कैदवापत ८१ वर्ष ६ दिन र जरिवानावापत ८ लाख ६६ हजार ४५१ रूपैयाँ असुल भएको प्रहरीले जनाएको छ।

कुनै अपराधमा संलग्न भएर पक्राउ नपरेका व्यक्तिहरु गाउँघरमा लुकिछिपी बसेको भए तत्काल जानकारी दिन प्रहरीले सबैमा अनुरोध गरेको छ । ‘अपराध गरेर फरार बनेका व्यक्तिका बारेमा सूचना दिनेको परिचय गोप्य राखिने छ,’ डीएसपी राईले भने, ‘प्रतिवादीलाई भने पक्राउ गरेर कानूनको दायरामा ल्याइने छ।’

एसपी ढकालले धमाधम प्रतिवादी पक्राउ पर्न थालेपछि अपराधबाट पीडित बनेकाले न्यायको अनुभूति गर्न पाएको बताए। ‘अपराध गरेका व्यक्ति खुलेआम हिँडडुल गर्दा पीडितलाई न्याय हुँदैन। असुरक्षित महसुस गर्दै उनीहरुले कानुनप्रति सधैँ शंका गरिरहने अवस्था आउँछ,’ उनले भने, ‘तर, पक्राउ गरेर कानुनको दायरामा ल्याउँदा पीडितलाई न्याय र राहत मिल्छ । अपराधरहित समाज बनाउनु पर्छभन्ने उदेश्यसहित प्रहरीले अपराधमा संलग्नलाई पक्राउ गर्न मेहनत गरिरहेको छ।’

प्रकाशित मिति: २०२३-०१-३१ , समय : १३:०९:२४ , २ वर्ष अगाडि