रेडियो गौशाला , ७४९ पटक हेरिएको
महोत्तरी- जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट प्रहरीले पाँच जना लेखनदासलाई पक्राउ गरेको छ । सेवाग्राहीहरूको काम आफै गरिदिने र बढी रकम माग गर्नेगरेका कारणले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा. २ बस्ने उदयशंकर यादव, जलेश्वर न.पा. २ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर न.पा. ८ बस्ने विशम्भरप्रसाद साह रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले सेवाग्राहीको काम कार्यालयमा आफै पुगेर गरिदिने, सेवाग्राहीसँग बढी रकम लिने लगायतका गुनासो आएपछि निगरानी राखेर उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
सेवाग्राहीको बढी भिडभाड हुने प्रशासन कार्यालय, मालपोत तथा भूमिसुधार कार्यालय, अदालत लगायतका कार्यालयमा लेखनदासहरू अदालतबाट प्रमाणपत्र पाएर कामकाज गरे पनि उनीहरू अतिरिक्त रकमको लोभमा नियम विपरितका कामहरू गराउँदा गुनासोहरू बढेको देखिएको छ ।
सेवादाता र सेवाग्राहीबीच पुलको काम गरिदिने लेखनदासको काम भए पनि तोकिएभन्दा बढी रकम लिएर बिचौलियाको काम गरिदिने गरेको कारणले पटक पटक सेवादाता कार्यालयले बिचौलिया निषेधित क्षेत्र भनेर कार्यालयमा निषेधित गर्दैआएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउने क्रममा लेखनदास जिम्मेवार निकायले तोकिदिएको शुल्कभन्दा बढी रकम लिने गरेकाले सेवाग्राहीहरू उजुरी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिनुभयो ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन महोत्तरीका सचिव अर्पणकुमार कर्णले सेवा प्रदायक र सेवाग्राहीबीच पुलको काम गर्ने लेखनदासलाई के कति कारणले पक्राउ गरिएको हो, बुझन् नसकेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०१-३१ , समय : १३:०१:२५ , २ वर्ष अगाडि