रेडियो गौशाला , ५५९ पटक हेरिएको
जनकपुरधाम- एक सहयोगी व्यक्तिले जाडो प्रभावित महोत्तरी र धनुषाका दुई दर्जन अति विपन्न परिवारलाई बल्यांकेट वितरण गरेका छन् । महोत्तरी गौशाला नगरपालिका २३ र सम्सी गाउँपालिकाका ५ अति विपन्न परिवारलाई बल्यांकेट वितरण गरिएको हो ।
सोमबार सरसफाइ अभियन्ता धिरेन्द्र साहको नेतृत्वमा तथा संचारकर्मीको उपस्थितिमा जाडोले कठ्यांग्रिएर रात काट्ने अति विपन्न परिवारलाई घरघरमै पुगेर बल्यांकेट हस्तान्तरण गरिएको छ । काठमाडौंका एकजना महिला समाजसेवीले अनलाइनखबरमा ‘जाडोले १५ जनाको ज्यान गइसक्यो, दाउरा बाँडेर बसेको छ सरकार’ शीर्षको समाचार पढेर अत्यन्तै प्रभावित भइ ३० वटा बल्यांकेट वितरणको लागि पठाएकी थिइन् ।
अनलाइनखबरका पत्रकार शैलेन्द्र महतो क्रान्तिले संयोजन समन्वय गरी उक्त बल्यांकेट सरसफाइ अभियन्ता साहको हातबाट लक्षित परिवार समक्ष पुर्याएका हुन् । गौशाला नगरपालिका ४ स्थित मलहनिया पोखरी किनार र वरपर बसोबास गर्ने मध्येका १७ सुकुम्बासी मुसहर र धन्कार समुदाय, गौशाला नगरपालिका २ निगौलका २ जना र इलाका प्रहरी कार्यालय गौशालाको थुनुवालाई तीनवटा बल्यांकेट उपलब्ध गराइएको छ ।
त्यस्तै सम्सी गाउँपालिका वडा नंं ४ र ५ का डोम र चमार समुदाय गरी पाँच परिवार र धनुषा जिल्लाका ३ जना अति विपन्न परिवारलाई बल्यांकेट वितरण गरिएको हो ।
सामाजिक अभियन्ता साहले संकटको बेला सरकार मुकदर्शक भएको अवस्थामा सबैले एकअर्कालाई सहयोग गर्नुपर्ने भावनाको विकास गर्न सांकेतिक रुपमा केहि अति विपन्न परिवारलाई बल्यांकेट वितरण गरिएको बताए ।
सहयोगीलाई धन्यवाद दिँदै उकनले तीनै तहको सरकार अझै पनि संकटमा जनताको जिउज्यानप्रति जिम्मेबार नबनेको आरोप लगाए । संकटको घडीमा आफू भन्दा गरिब तथा विपन्न परिवारलाई सबैले सहयोग गर्नुपर्ने र सरकारले यस्तो बेलाको लागि पूर्व तयारी गर्नुपर्ने साहको भनाइ छ ।
बल्यांकेट वितरणमा महिला अधिकारकर्मी पुजा साह, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्र, संचारकर्मी अमरेश मल्लिक, रामबाबु यादव लगायतले सघाएका थिए ।
प्रकाशित मिति: २०२३-०१-२४ , समय : १९:०९:३५ , २ वर्ष अगाडि