रेडियो गौशाला , ८४७ पटक हेरिएको
महोत्तरी- महोत्तरीको भङ्गाहा नगरक्षेत्रका देवालयहरुमा लगातार चोरीका घटना भएका छन् । भङ्गाहा-४ पलारस्थित श्रीरामजानकी मन्दिर, भङ्गाहा-५ सिद्धपुरस्थित श्रीसिद्धनाथ महादेव मन्दिर र भङ्गाहा-५ कै सीतापुरस्थित श्रीगढीमाई मन्दिरमा लगातार पछिल्ला तीन दिनयता चोरीका घटना भएका हुन् ।
ग्त सोमबार राती श्रीसिद्धनाथ मन्दिरको मूल ढोका फुटाई त्यहाँका शङ्ख, घण्ट र पूजाथालीसहितका सामग्री चोरी भएको हो । चोरले मन्दिर परिसर ओरपर मन्दिरमा चढाइएका प्रसाद सामग्री छरपस्ट पारेर मिल्काएका भेटिएको थियो । त्यसलगत्तै मङ्गलबार राती श्रीरामजानकी मन्दिर र बुधबार राती श्रीगढीमाई मन्दिरका सामग्री चोरिएको हो । तीनवटै चोरीका घटनामा पूजा सामग्री (शङ्ख, घण्ट, पूजाथाली) सहित मन्दिरका प्रतीमाका मुकुट, दानपेटिकासमेत चोरिएको नगरप्रमुख सञ्जिवकुमार साहले बताउनुभयो ।
पछिल्लो घटनामा त मन्दिर परिसरमै दिसापिसाव गरेर फोहरसमेत गरेका पाइएको हुँदा यो चोरीमात्र नभई धार्मिकद्वेष फैलाउने कुचेष्टा हुनसक्ने नगरप्रमुख साहको अनुमान छ । तीनवटै मन्दिर बस्तीबाट पर अलि निर्जन ठाउँमा रहेका हुँदा राती कतिबेला यस्तो घटना गराइयो यकिन गर्न नसकिएको त्यहाँका स्थानीयको भनाइ छ ।
भङ्गाहामा गत कात्तिकमा यसैगरी नगरक्षेत्रका इस्लाम धर्मावलम्बीको प्रार्थनाघर मस्जिदमा उच्छृङ्खल समूहले धार्मिक मर्यादाविपरित धार्मिक आस्तामै चोट पुर्याउने दुष्कर्म गरेका थिए । पछिल्ला घटनाबारे सीतापुरस्थित नेपाल प्रहरीको प्रहरीचौकी र सशस्त्र प्रहरीको वेसक्याम्पका अधिकारीले स्थलगत अनुगमन गरेका छन् ।
धार्मिक सम्पदा र सोसँग जोडिने आस्थासँगै छेडछाड गर्नेगरी भएका घटनाबारे गम्भीरताका साथ खोजवीन गर्न भङ्गाहाबासीले जिल्लास्थित प्रहरी/प्रशासनसमक्ष माग गरेका छन् ।
प्रकाशित मिति: २०२३-०१-२० , समय : १६:२८:२३ , २ वर्ष अगाडि