रेडियो गौशाला , ८८३ पटक हेरिएको
महोत्तरी- बर्दिवास अस्पतालले विशेषज्ञ सहितको सेवा विस्तार गरेको छ । बुधबार एक कार्यक्रमका बीच नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले उदघाटन गर्दै सेवा विस्तारको शुभारम्भ गरेको हो ।
विस्तारित सेवा अन्तर्गत सामाजिक सुरक्षा तर्फ जेष्ठ नागरिक, महिला तथा बालबालिकाको उपचारमा विशेषज्ञ सहित आधुनिक उपकरणबाट सेवा दिने बर्दिवास अस्पतालका व्यवस्थापन समिती अध्यक्ष जयराम शर्माले जानकारी दिए । उनले केन्द्र सरकार, प्रदेश सरकार तथा नगरपालिकाको सहयोगमा बर्दिवासमा आधुनिक उपकरण सहित विशेषज्ञ सेवा दिन सकिएको जानकारी दिए।
त्यसैगरी बर्दिवास अस्पतालकी मेडिकल सुपरिटेन्डेड कृष्णा महर्जनले विशेषज्ञ सेवाको विस्तारले यस क्षेत्रका वासिन्दाले अन्यत्र जानु पर्ने बाध्यता हटेको बताउँदै उनले अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, जनरल फिजिसियन पोस्टमार्टम सेवा साथै सर्जरी सेवाको विस्तार गरिएको जानकारी दिइन् ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख प्रह्लाद क्षेत्रीले बर्दिबास नगरवासिको ठूलो समस्याको रुपमा रहेको स्वास्थ्य सेवामा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले बर्दिबास नगरपालिका मात्र नभएर यस भेगका गौशाला, भंगहा, औरही लगायत धनुषा, सिन्धुली जिल्लाका नागरीकहरुले अब अस्पतालबाट सेवा लिन सक्ने बताए।
बर्दिबास अस्पताल २०६४ साल अघि ईलाका हेल्थ पोस्ट रहेको र हाल १५ सैयाको अस्पतालमा स्तर उन्नति गर्न राजनीति दहरुले खेलेको भुमिका प्रती धन्यवाद दिदै मेयर क्षेत्रीले अब आउने दिनहरुमा यसलाई ५० सैयाको अस्पताल बनाउने प्रयत्न गर्ने बताए ।
महोत्तरीमा जलेश्वर बाहेक अन्य क्षेत्रमा सामुदायिक अस्पतालको अवस्था रेफर सेन्टरको रुपमा मात्र भएको भन्दै आलोचना भैरहदा बर्दिवास अस्पतालको सेवा विस्तारले यस क्षेत्रका वासिन्दालाई महगों निजी अस्पताल वा अन्यत्र जानु पर्ने समस्यालाई निराकरण गर्ने विश्वास लिईएको छ ।
प्रकाशित मिति: २०२३-०१-१९ , समय : १४:५३:३१ , २ वर्ष अगाडि