चाडपर्वका बेला पनि बजार अनुगमन भइरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ ।।

रेडियाे गाैशाला , २३४२  पटक हेरिएको

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ६ दिनको अवधिमा व्यवसायीहरूलाई साढे तीन लाखभन्दा बढी जरिवाना गरेको छ । विभागका अनुसार काठमाडाँै उपत्यकाका विभिन्न स्थानमा कात्तिक १ देखि ६ गतेसम्म गरिएको अनुगमनका क्रममा ३ लाख ६० हजार रुपैयाँ जरिवाना गरेको हो । विभागका प्रवक्ता होमनाथ भट्टराईले विदाका समयमा समेत विशेष अनुगमन टोलीले अनुगमन गरिरहेको जानकारी दिनुभयो । विभागले कात्तिक १ गते लगनखेल, कलंकी, नक्साल ठमेल लगायतका क्षेत्रमा इलेक्ट्रोनिक्स, खाद्य वस्तु, होटल तथा रेस्टुरेन्टको अनुगमन गर्दै कसुर अनुसार व्यवसायीहरुलाई ७५ हजार जरिवाना गरेको छ । यस्तै कात्तिक २ गते चन्द्रागिरि, बौद्ध, महाबौद्ध, पुरानो बानेश्वर क्षेत्रका व्यवसायीलाई ४५ हजार जरिवाना गरेको थियो भने कात्तिक ३ गते गोकर्णेश्वर, किर्तिपुर, ज्ञानेश्वर क्षेत्रका व्यवसायीलाई ३५ हजार जरिवाना तिराएको छ । कात्तिक ४ गते १५ हजार र कात्तिक ६ गते ४५ हजार जरिवाना व्यवसायीलाई तोकिएको थियो भने सबैभन्दा बढी कात्तिक ५ गते १ लाख ४५ हजार जरिवाना तिराइएको छ । कात्तिक ५ गते २५ वटा पसलको अनुगमन गरिएकामा मूल्य सूची, दर्ता प्रमाणपत्र नराखेका, खरिद विल विजक नराखेका ५ जना व्यवसायीलाई १ लाख ४५ हजार जरिवाना तोकिएको हो । बजारसँग सम्बन्धित कुनै पनि गुनासो वा उजुरी भए उपभोक्ताले टोल फ्रि नम्बर ११३७ मा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति: २०२२-१०-२७ , समय : १०:२३:४५ , २ वर्ष अगाडि