सिरहा : हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ

रेडियो गौशाला , ७७५  पटक हेरिएको

सिरहा । सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका–१ का २० वर्षीय नितेशकुमार रजक र वडा नं २ मलनियारीका २० वर्षीय रामकुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।

हत्या भएको १२ घण्टाभित्रै लुकीछिपी रहेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको खुकुरीजस्तो देखिने धारिलो हतियार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नाबय उपरीक्षक सुवास बुढाथोकीले जानकारीदिए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेश प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरिएको जनाएको छ ।

गाउँ नजिकै रहेको कर्जन्हा नगरपालिका–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मङ्गलबार अपराह्न बाटोमा लुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो धतियारले पेट र घाँटीमा प्रहार गरेका थिए । लक्ष्मीनियाँको घटनास्थलमै मृत्यु भएको थियो ।

पक्राउ परेकाहरूविरुद्ध बुधबार जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरिएको सिरहा प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेकामध्ये एक जना युवकसँग महिलासँग नजिकको सम्बन्ध रहेको प्रारम्भिक अनुमानबाट खुलेको छ । लक्ष्मीनियाँकी श्रीमान् दीपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा थिए । घटनाको जानकारी पाएलगत्तै उनी नेपाल फर्कँदै गरेको दीपेन्द्रका बुवा रामदेवले बताए ।

प्रकाशित मिति: २०२२-१२-१५ , समय : १३:१६:२९ , २ वर्ष अगाडि