समानुपातिक उम्मेदवारको नाम आज ४ बजेसम्म सच्याउन पाइने

रेडियो गौशाला , २१७३  पटक हेरिएको

काठमाडौँ । समानुपातिकतर्फ राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको उम्मेदवारको सूची आज ४ बजेसम्म सच्याउन पाउने भएका छन् । नामावली सच्याउन चाहनेका लागि आज ४ बजेसम्मको समयसीमा उपलब्ध गराइएको छ ।

समानुपातिक उम्मेदवारको नाममा त्रुटि भए सच्याएर पुनः विवरण पठाउन समय दिइएको आयोगको समानुपातिकतर्फका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

उनका अनुसार प्रतिनिधिसभाअन्तर्गत दलले बुझाएको समानुपातिक उम्मेदवारको विवरणमा सच्याउनुपर्ने अवस्था भने हाल देखिएको छैन ।

केही राजनीतिक दलले प्रदेशसभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सच्याएर आयोगमा पठाउन पत्राचार गरिएको छ । सच्याएको विवरण आएपछि आयोगले उनीहरूलाई निर्वाचित भएको घोषणासहित प्रमाणपत्र प्रदान गर्नेछ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभामा १४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिबार नै बन्दसूचीमा रहेका उम्मेदवारको नामावली पेस गरिसकेका छन् ।

प्रकाशित मिति: २०२२-१२-१२ , समय : ०६:५६:१० , २ वर्ष अगाडि