रेडियो गौशाला , १०३१ पटक हेरिएको
काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले निर्वाचन परिणामले निराशा चिर्दै जनतामाझ आशा स्थापित गरेको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले जनतामा थोरै भए पनि आशा जगाउने काम गरेको बताए।
उनले भने, ‘राजनीतिक प्रवृत्तिका कारण जनतामा निराशा छाएको थियो। तर, अहिलेको चुनावले निराशालाई चिरेर आशा स्थापित गर्ने आधार तय गरेको छ ।’ अब आफूले पनि जनतामा आशा जगाउन काम गर्ने प्रतिबद्धता राउतले व्यक्त गरेका छन्।
‘मलाई जिताएर सप्तरीका जनताले आशा जगाउने काम गर्नुभएको छ। म पनि विदेशमा रहेका नेपालीहरूलाई मुलुकप्रति आशा जगाउने काम गर्नेछु। तपाईँहरूको मतको पूर्ण सदुपयोग भएको आभास दिलाउनेछु,’ राउतले भने। निर्वाचनपछि पार्टीको नयाँ यात्रा सुरु भएको बताए।
सप्तरी–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै राउत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
प्रकाशित मिति: २०२२-१२-०४ , समय : ०८:०९:०२ , २ वर्ष अगाडि