रेडियो गौशाला , ९६० पटक हेरिएको
सप्तरी- किसानको लागि आएको गहुँको बीउ किसानलाई नदिएर कर्मचारीहरुले नै अवैद्य तवरले गहुँको विउ लैजाँदै गर्दा किसानहरुले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको छ ।
मधेश प्रदेशको सप्तरी जिल्लास्थित एक नगरपालिकाका स्वास्थ्य प्रमुखले अवैद्य तवरले गहुँको बीउ गाडीमा चोरेर लैजाँदै गर्दा किसानहरुले रँगेहात पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएको हो ।
सप्तरीको कंचनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसेवक यादवले विभिन्न बहानामा आफ्नो नीजि चारपाँग्रे गाडीमा किसानको लागि आएको गहुँको बीउ नगरपालिकाभन्दा बाहिर लैजाँदै गर्दा पक्राउ गरिएको हो ।
स्वास्थ्य शाखा प्रमुख यादवले चढेको प्रदेश ३–०१ ०२३ च ६५४२ नम्बरको गाडीमा किसानको लागि आएको गहुँको बीउ राखेर घर जाँदै गर्दा उनलाई किसानहरुले बाटोमै पक्राउ गरी गहुँको बीउ प्रहरीको जिम्मा लगाएको हो ।
कंचनरुप नगरपालिको कृषि शाखाबाट चोरीलुकी गाडीमा गहुँको वीउ राखेर रुपनी लैजाँदै गर्दा किसानहरुले उनको गाडी घेराउ गरेको थियो । सुरुमा उनले गाडीमा केही पनि नभएको दाबी गरेपनि गाडी ढिक्की खोल्दा एक बोर गहुँको बीउ बरामद भएको हो ।
जानकारी अनुसार, स्वास्थ्य शाखा प्रमुख यादवले प्रत्येक दिन एक एक बोरा गहुँ लिएर अन्य ठाउँमा चर्को मूल्य लिएर बेच्ने गरेको आरोप लगार्ईएपनि यसको अधिकारिक पुष्टि भने हुन सकेनन् ।
सप्तरीमा डा. सिके राउतको किसान आन्दोलनको कडा प्रभाव छ । गत बर्ष चलेको किसान आन्दोलनको प्रभावले किसानहरुले आफूहरुको लागि आएको बीउ, खाद्य, मलको लागि अब आवाज उठाउन थालेका छन् । -न्यूज ब्यूरो
प्रकाशित मिति: २०२२-१२-०२ , समय : ०७:३०:५६ , २ वर्ष अगाडि