सुनिता बराल, , २८३५ पटक हेरिएको
महोत्तरी — निर्वाचनमा मतदान नगरेकै निहुँमा मंगलबार राति गौशाला नगरपालिकाको निगौलका स्थानीयमाथि टोलमै पसेर कुटपिट भएको घटनाले दुखी बनाएको माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताएका छन् ।
नेता पोखरेलले सामाजिक सन्जालमा लेख्दै टोलमै पसेर आक्रमण गर्नु र घाइतेहरु उपचारमा रहेका बेला अस्पतालमै गएर पुनः आक्रमण गरेको घटनाले दुःखित बनाएको बताएका हुन् । ‘निर्वाचनमा म पराजित भए पनि विगत २ दिनदेखि मतदातालाई आभार तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गर्दै विभिन्न वडामा जाने क्रममा हिजो बिहान त्यही निगौलमा कार्यक्रम गरिएको थियो,’ उनले भनेका छन्, ‘कार्यक्रममा सहभागी हुने गठबन्धनका नेता, कार्यकर्तामाथि कुटपिट भएको छ ।’
महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतलाई भेटेर घटना अनुसन्धानबारे जानकारी लिँदै निगौलका जनताको सुरक्षा संवेदनशिलताप्रति गम्भीर हुन अनुरोध गरेको पोखरेलले जनाएका छन् ।
लोकतान्त्रिक प्रक्रियामा सहभागी भए पनि सोच, शैली र व्यवहारमा आपराधिक प्रवृत्ति हुनेहरुको पतन निश्चित हुने उनको दाबी छ । घाइते निगौलवासीको नेता पोखरेलले स्वास्थ्यलाभको कामना गरेका छन् ।
शाभार कान्तिपुर
प्रकाशित मिति: २०२२-१२-०१ , समय : ०७:५९:३३ , २ वर्ष अगाडि